How to Guide Children?

Art of Parenting Annapurna Post Daily

This article is written in Nepali language by Archana Bibhor, Psychotherapist and Trainer. The article is about parents-children relationship. It was published in Annapurna Post National Daily. 

- अर्चना विभोर (मनोविमर्शकर्ता तथा प्रशिक्षक)

सन्तानको प्रेम र सुरक्षा सबै प्राणीहरू गर्दछन् । मानवजातिले सन्तानलाई विशेष प्रेम गर्दछन् । आफ्ना सन्तानलाई माया गर्ने, तिनको मार्गदर्शन गर्ने अभिभावकहरूको कर्तव्य पनि हो । हरेक अभिभावक आफ्ना सन्तानको रेखदेख, सुरक्षा, मायाममता, भरणपोषण, शिक्षादीक्षाका लागि सक्दो मिहिनेत गर्दछन्। अभिभावकले डोर्याएको बाटोमा 'ताते' गर्दै हरेक बालबालिकाको यात्रा सुरु हुन्छ। मनमस्तिष्क विकाश हुनु भन्दा पहिलेदेखि नै बालबालिकालाई डोर्याउने भएकाले अभिभावकले जस्तो चाह्यो त्यस्तो बाटो हिँडाउन सक्छन् । मानिसले चालेको प्रत्येक पाइलामा अभिभावकको देन हुन्छ । मायाप्रेम, लगाव, समर्पण आदिले भरिपूर्ण मार्गदर्शनका कारण मानिसले सगरमाथाको चुचुरो छुने सम्म साहस गर्दछन् ।

कहिलेकाहीँ भने अभिभावकले समयको माग भन्दै प्रतिस्पर्धा तर्फ डोर्राइदिन पुग्छन् । आफ्ना दमित ईच्छाहरू छोराछोरीले पूरा गरिदिए हुन्थ्यो भन्ने आशाका साथ समयको मागलाई घुलाएर सन्तानलाई उच्च शिक्षा, गुणस्तरीय शिक्षा वा अत्यावस्यक शिक्षा नामक दबाब पिलाउन पुग्छन् । यस्ता दबाब पिएका सन्तानहरू भित्रभित्रै जलन, कुण्ठा, अपहेलना, हिनताबोध, कमजोर आत्मबल, न्यून आत्मसम्मान जस्ता समस्याहरू उमार्न बाध्य भइरहेका हुनसक्छन् । यस्ता समस्याहरूले कुनै समयमा गएर विकराल रूप पनि लिनसक्छन् । 

आफ्ना छोराछोरीले उच्चशिक्षा हासिल गरुन् भन्ने चाहना हुनु स्वभाविक हो । शिक्षित अभिभावक, सही समयमा सही मार्गदर्शन, अभिभावकको समय र उचित वातावरण पाउनु सन्तानको सौभाग्य हो । तर, आफ्ना छोराछोरी आफूले भनेकै विषय पढुन्, विज्ञान नै पढुन्, डाक्टर वा इन्जिनियर नै बनुन् भन्ने जस्ता दबाबपूर्ण मार्गदर्शनले सन्तानमा नकारात्मक भावना उत्पन्न हुनसक्छ । यस्ता नकारात्मक विषयले ठूलो रूप लिन समय लाग्दैन । 

आफूले नचाहेको विषय पढ्नु परेकाले पढाइमा अरूची हुँदै जाने, आफूलाई अभिभावकले पढ्न नसके माया गर्दैनन् भन्ने सोचको विकाश हुने, आफूलाई कमजोर ठान्ने, हिनता बोध हुने, रीस उठ्ने, दिक्क लाग्ने जस्ता लक्षणहरू देखापर्न सक्छन् । कहिलेकाहीँ त छोराछोरीले अत्याधिक दबाब महसुस गरेर आत्महत्या सम्म गर्न पुग्ने हुनसक्छ ।

मनोविमर्शका लागि म कहाँ आउने अधिकांश विद्यार्थी प्रत्यक्ष वा परोक्ष रूपमा अभिभावकबाटै पिडित हुन्छन् । स्नातकोत्तर गरिरहेका एक क्लाइन्टका अनुसार उनलाई घरमा कसैको मुखै हेर्न मन लाग्दैन । "मेरो इच्छाको विषय चित्रकला थियो तर मलाई जबर्जस्ती विज्ञान पढ्न लगाए", उनले दुखेसो गर्दै भने, "अहिले म ब्याक पेपरको जाँच दिँदै बसेको छु । रोजेको विषय पढ्न पाएको भए कहाँ पुगिसक्थेँ होला !"

कक्षा ८ मा पढ्दै गरेका मेरा अर्का क्लाइन्टको मनस्थितिले त मलाई स्तब्ध पारिदियो । एसएलसीमा डिस्टिङसन ल्याउन नसके आत्महत्या गर्ने सोच बनाएका थिए उनले । "बाबाआमाले मलाई होच्याएर गाली गर्ने त होला नि", उनी भन्दै थिए "त्यो भन्दा त म आफैँ झुण्डिएर मरे आनन्द हुन्छ ।" 

त्यस्तै मेरी अर्की क्लाइन्ट थिइन् जसका शिक्षित बाबुआमा छोरीको निरन्तर खस्किरहेको पढाइ तथा एकांकीपना बाट चिन्तित थिए । त्यस समय १५ वर्षकी ती विद्यार्थीसँगको मनोविमर्शको दौरान अचम्मको तथ्य पत्ता लाग्यो । झण्डै ९ वर्ष अघि उनले एक नाम चलेको निजी विद्यालयमा भर्ना हुनका लागि परिक्षा दिएकी रहिछिन् जसमा उनी असफल भएकी रहिछिन् । परिक्षाको तयारीका क्रममा पिताले उनलाई पटक-पटक 'नाम ननिस्के लाज हुन्छ है!' भन्ने गरेको कुरा उनको अवचेतनमा गडेको रहेछ । 

मेरा अर्का क्लाइन्ट थिए जो डिप्रेसनको सिकार भएका थिए । दुई दाजुभाइ मध्ये कान्छा उनलाई इच्छा विपरित पिताले "दाजु डाक्टर पढ्दैछ, तँ चाहीँ म्यानेजमेन्ट पढेर इज्जत फ्याँक्ने !", भन्दै जबरजस्ती विज्ञान पढ्न लगाएका रहेछन् । 

सन् १९९९ मा वोल्फ, टोरो र म्याकक्यास्किल ले गरेको अनुसन्धानका अनुसार घरमा दबाब पाएका केटाकेटीहरू खुसी खोज्न घरबाट भाग्ने गर्छन् । नेपाली समाजमा विभिन्न तहका विद्यार्थीले घर परिवारबाटै विभिन्न किसिमका दबाब पाउने गरेका छन् । यस्ता दबाबले कुनै न कुनै किसिमको नकारात्मक परिस्थिति उत्पन्न गराएकै हुन्छ, जुन सबैका लागि घातक हुनसक्छ ।

प्रख्यात मनोविज्ञ इनराइटका अनुसार जुन अभिभावकले छोराछोरीलाई सही मार्गनिर्देशनका साथ आत्मनिर्णयको अनुमति दिन्छन्, ती अभिभावकले आफ्ना सन्तानको अस्तित्व सुदृढ पार्न मद्दत पुर्याउँछन् । छोराछोरीलाई आफू नजिक राख्न चाहने हो भने उनीहरूको भावना बुझेर माया गर्ने, स्वीकार् गर्ने र साथ दिने गर्नु पर्छ । उनीहरूमाथि अभिभावकको रूपमा हैकम चलाउनु भन्दा उनीहरूको साथी बन्न सक्नु गौरवको विषय हो ।

शिक्षा दिने नाममा सन्तानलाई दबाब नदिई स्वतन्त्रता दिनु राम्रो हुन्छ । दबाब रहित मार्गदर्शन गर्नाले छोराछोरीलाई अभिभावकले आफूलाई माया गरेको महसुस हुन्छ । माया पाएको हुनाले माया नै दिनु पर्छ भन्ने किसिमको जिम्मेवारी समेत उनीहरूलाई बोध हुन्छ । "तिम्रो जस्तोसुकै अवस्थामा पनि म तिमीलाई माया गर्छु, तिमीलाई साथ दिन्छु, तिमीलाई स्वीकार गर्छु", भन्ने विश्वास र प्रत्याभूति दिलाएर मार्गदर्शन गर्नाले सन्तानमा सकारात्मक भावनाको विकास हुन्छ । 

आत्मविश्वास, आत्मसम्मान, आत्मबल उच्च हुन्छ। जिम्मेवारीको बोध, अभिभावक प्रति विश्वास आदिको विकास हुन्छ । यसरी सकारात्मक पक्षहरू सबल भइदिँदा सन्तानले प्रगतिको बाटो लम्किन सक्छन् । सही मार्गदर्शनले सन्तानले सफलता चुम्न सक्छन् ।

(अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित)

Segment
Book Your Free Initial Consultation