मनोसामाजिक समस्या र मनोविमर्श सेवाको आवश्यकता

Mental Health

- अर्चना विभोर, मनोविद्

मानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन। मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।

मानिस सामाजिक प्राणी हो। घरपरिवार बन्ने प्रक्रियामा समाज पनि बन्छ जहा मानिसले आफूलाई सुरक्षित अनुभव गर्छ। समाज मानिसको अर्को घर हो। समाजबाट उसले अनेकथरिका शिक्षा हासिल गर्छ र समाजलाई नै केही दिनसक्ने बन्छ। समाजअनुसारको प्रतिफल निस्कने हुनाले मानिसलाई सामाजिक प्राणी भनिएको हो। मानिसले त्यही काम गर्छ जुन उसले समाजबाट सिक्छ।

मनोसामाजिक समस्या

मनोसामाजिक भन्ने शब्द मन र समाज मिलेर बनेको हो। मानिसको मनले गर्ने कार्यले समाजमा पर्ने असरको आधारमा मनोसामाजिक समस्या देखापर्छन्। मानिसले आफू र समाजको बीचमा तालमेल मिलाउन नसकेर उसमा आइपर्ने शारीरिक, मानसिक र सामाजिक समस्यालाई मनोसामाजिक समस्या भनिन्छ। उसको त्यो समस्याले उसको मन, शरीर, व्यवहार र सम्बन्धमा प्रतिकूल असर त पर्छ नै साथमा उसको यस्तो अवस्थाका कारण समाजका अन्य मानिसलाई पनि प्रत्यक्ष-अप्रत्यक्ष असर पर्न जान्छ।

उदाहरणका लागि, हरि चौध वर्षीय किशोर हो। समाजको मूल्य मान्यता, रीतिरिवाज र अनुशासनको पालना गर्न नसकेका कारण उसले मनमनै आत्मग्लानी, असुरक्षा र मूल्यहीनताको महसुस गरिरहन्छ। समाजका अन्य व्यक्तिले पनि उसैलाई अधर्मी भन्दै गाली गर्ने,नराम्रो भन्ने, अपहेलना गर्नेजस्ता कार्यहरू गर्दछन्। यस्तो अपहेलनाले उसमा झन् विषाद, कुण्ठा, आलस्यजस्ता अनेक समस्याहरू आइपर्न सक्छन्। त्यसपछि हरिको व्यवहारमा परिवर्तन हुदै जान्छ। उसलाई एक्लै बस्न मन लाग्ने, अरूसँग बोल्न मन नलाग्ने, दिक्क लाग्ने,रिस उठ्ने, काम गर्न मन नलाग्ने हुन्छ। ऊ अरूसँग बोल्दा झर्किने र चिड्चिड्याउने गर्न थाल्छ। काममा ध्यान नदिदा असफल हुने र असफलताको दोष अरूलाई दिनेजस्ता लक्षण पनि उसमा देखापर्छन्।

बिस्तारै उसको मनमा कतै म बहुलाएको त होइन?, भन्ने खालको प्रश्न उठ्न सक्छ। न अरूले पनि मलाई बहुला नै पो देख्छन् कि?,भन्ने सोचाइले उसको मन छियाछिया हुन्छ। त्यसपछि ऊ आफै अरूसँग तर्किएर हिड्न थाल्छ र सबैलाई शंकास्पद दृष्टिले हेर्न थाल्छ।

हरिलाई मात्र होइन समाजका प्रायः मानिसलाई मनोसामाजिक समस्याले सताएको हुनसक्छ। फरक यति मात्र हो कि कसैले आफू र समाजबीचमा सन्तुलन राख्न सक्छन् भने कसैलाई यस्ता समस्याको सामना गर्न निकै कठिन हुन्छ। हरेक मानिसको सामना गर्नसक्ने क्षमता फरक हुन्छ जसको कारण समस्याको असर पनि सबैमा फरक हुन्छ। मनोसामाजिक समस्याबाट सबै मानिस पीडित छन् तर सबैमा मात्रा र किसिमको भिन्नता पाइन्छ। हेर्दा समस्या नलागे पनि मनोसामाजिक समस्या वास्तविक समस्या हो। अरू सबै समस्या प्रस्ट देखिने मात्र नभई तिनका कारण पनि खुलस्त हुन्छन्। तर मनोसामाजिक समस्या न त देखिन्छ, न त सजिलै बुझ्न वा बुझाउन नै सकिन्छ। प्रत्येक मानिसको प्रकृति फरक हुन्छ। मानिसका सबै अङ्गहरू उस्तै हुदाहुदै पनि हरेक मानिस फरक देखिनुको मुख्य कारण नै प्रकृति हो। मानिसले हेर्ने, बोल्ने, सुन्ने, विचार गर्ने, महसुस गर्ने, माया-प्रेम गर्ने, आदर गर्ने, सोच्नेजस्ता क्रिया सबैमा फरक हुन्छ। हामी सबैले गर्ने व्यवहार फरक भए पनि हामीले गर्ने एउटा गल्तीचाहि समान छ। हामी अरूलाई हाम्रै किसिमले व्यवहार गर्छौं जसका कारणहामीमा समस्या देखापर्छ।

उदाहरणका लागि, हामीले कसैलाई हेरेर हास्दा त्यो व्यक्तिले आफूलाई गिज्याएको पो हो कि भन्ने महसुस पनि गर्न सक्छ। अनि,उसले असामान्य लाग्ने गरी हास्छ, जुन हासो हामीलाई मन नपर्न सक्छ। त्यसपछि हामी भन्छौं, कस्तो मान्छे रहेछ? यसरी हामी दुईबीच समस्या देखापर्छ र हामी त्यसमा अल्भि्कन बाध्य हुन्छौ।

नेपाली समाजमा मनोसामाजिक समस्या

हाम्रो समाजका अधिकांश मानिस मनोसामाजिक समस्याबाट ग्रस्त भएपनि उनीहरू यस्ता समस्या बारे चेतनशील छैनन्। बहुसङ्ख्यक नेपाली अशिक्षित भएकाले यस्तो परिस्थिति देखिएको हो। हुनत शिक्षित मानिसमै पनि यस्ता सामस्याबारे जानकारीको अभाव छ। मनोविमर्श सेवा ग्रहण गर्नका लागि मनोविमर्शकर्ता कहा जाने व्यक्तिहरूको सङ्ख्या निकै न्यून छ। नेपाली समाजको अर्को मुख्य समस्या भनेको असहयोगी भावना हो। आफूले सहयोग गर्नु त कहा हो कहा, अरूले दिन खोजेको सहयोगलाई समेत शंका गर्ने,अस्वीकार गर्ने अनि कसरी हुन्छ असफल पार्ने तिर लाग्ने बानी प्रायमा विद्यमान छ। सबैले यस्तो कुविचार हटाएमा मात्र सेवाको वातावरण बन्न सक्छ र मनोविमर्शकर्ताले प्रदान गर्ने सेवामा सहयोग मिल्न सक्छ।

मनोविमर्शकर्ताको आवश्यकता

मनोसामाजिक समस्याले ग्रस्त समाजलाई सहयोग गर्न मनोविमर्शकर्ताहरूको आवश्यकता पर्दछ। कठिन परिस्थितिमा भएका व्यक्तिहरूका समस्या सुनिदिने, बुझिदिने र यस्ता समस्याबाट माथि उठ्न प्रेरणा तथा हौसला दिने व्यक्ति नै मनोविमर्शकर्ता हो। सेवाग्राहीलाई भावनाको अर्थ बुझ्न र स्वस्थ जिन्दगी बाच्न मनोविमर्शकर्ताले साथ दिन्छन्। ज्ञान, सीप र धैर्यताका साथै खुलापन लगायत अन्य अति आवश्यक विशेषताहरूका साथ सेवा गर्न मनोविमर्शकर्ताहरू अघि सरेका हुन्छन्। मनोविमर्शकर्ताहरूसँगको वार्तामा नै सेवाग्राहीले आफ्नो आधा समस्या हल भएको महसुस गर्छन् किनभने मनोविमर्शकर्तालाई सेवाग्राहीले कस्तो किसिमको व्यवहार चाहन्छ भन्ने कुराको ज्ञान हुन्छ। सेवाग्राहीले चाहेजस्तो व्यवहार गर्न सक्ने क्षमता र सीप पनिमनोविमर्शकर्तामा हुनुपर्ने गुण हो। ससाना कुरालाई समेत अत्यन्तै ध्यान दिनुपर्ने कारण यो कार्य अत्यन्तै संवेदनशील छ। नेपालमा मनोविमर्श सेवाको अवस्था कमजोर छ। तर, आजकल मनोविमर्श संस्थाहरू पनि उल्लेख्य सङ्ख्यामा खुल्दै छन् जहा सक्षम तथा सचेत मनोविमर्शकर्ताले उचित ढङ्गले सेवा प्रदान गरिरहेका छन्। मनोविमर्शकर्ताले आफ्ना सामान्य व्यवहारदेखि विशेष गुणसम्म ध्यान पुर्यारएर अत्यन्तै संदेनशील भएर काम गर्दछन्। हाम्रो समाजमा पनि यो विषयको क्रमशः विकास हुँदैछ।

Segment
पहिलो नि:शुल्क मनोपरामर्शका लागि सम्पर्क गर्नुहोस्